होमपेज


भुजेल जाति र यसको परिचय

पृष्ठभूमि

नेपालका आदिबासी जनजाति मध्येको एक जाति हो भुजेल जाति नेपालका हुम्ला, बझाङ र बाजुरा जिल्ला बाहेक ७२ जिल्ला भरि फैलिएको रहेको भुजेल जातिको आफ्नै भाषा, संस्कृति, परम्परा, रितिरिवाज र मौलिकता रहेको छ । समाजमा आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेको यस जाति आफ्नो ईतिहासको अध्ययन अनुसन्धानको अभावमा मौलिकता गुमाउदै गईराखेको छ। नेपालका बिभिन्न भागहरुमा छरिएर रहेको यस जातिको बारेमा हाल आएर भुजेल समुदाय बाट नै थप अनुसन्धान हुन थालेको छ । भुजेल,घर्ती,खवास र निसेल गरि ४ थरहरुमा बिभाजित यस जातिका ११९ उपथर रहेको पाईन्छ । सरकारी जनगणना २०६८ तथ्याङ्क अनुसार 1,18,650 जनसंख्या (तर जनजाति महासंघले यो तथ्याङ्कलाई मिथ्याङ्क भन्दै अस्वीकार गरेको छ) रहेको भुजेल समुदायको बारेमा ऊनीहरुको वास्तविकतालाइ निम्न अनुसार बुझ्न सकिन्छ ः

१. परिचय
हालको बागलुङ जिल्लाको ढोरपाटन क्षेत्र नै भुजेल जातिको उद्गगम थलोको रुपमा मानिन्छ ।भुजी उपत्यकामा अबस्थित, भुजी खोलाको आसपास बस्ने समुदाय र उक्त उपत्यकामा पाइने भोजपत्रका घना जंगल, यिनै बिबिध कारणले गर्दा त्यहा बसोवास गर्ने समुदायलाइ भुजेल भनि सम्बोधन गरियो । त्यस्तै गरि घर्ता खोलाको किनार र घर्ताकोटमा बस्ने घर्तीहरु निसि खोलाको आसपासका निसेलहरु पनि भुजी राज्यमा आई रहन थाले । यसरी भुजी राज्यमा भुजेल, घर्ती र निसेल आपसमा मिलेर रहन थाले । उक्त उपत्यकामा बाईसे चौबिसे राज्यकालमा वि.सं. १३७२ सम्म भुजी राज्य रहेको पाईन्छ । तत्कालिन गल्कोटे राजा दुवार सिं मगर राजाले भुजी राज्यमा आक्रमण गरि त्यहा विजय प्राप्त गरेपछि भुजेलहरु आफ्नो सुरक्षित बासस्थानको लागि यत्र तत्र छरिएर रहन थाले । कतिपय समुहगत रूपमा अन्यत्र गई आफ्नाे धर्म संस्कृति र परम्परालाइ निरन्तरता दिए भने कतिपय छुट्टा छुट्टै रहेर त्यहंाको अन्य जाति संग मिलेर रहन थाले । अन्य भुजेलहरु मगर राजाको अन्याय अत्याचार सहेर पनि त्यही बस्न थाले ।
यस्तै गरि खवासको सन्दर्भमा गोर्खा राज्यको स्थपना संग सम्बन्धित रहेको देखिन्छ । द्रव्य शाहले गोर्खा राज्य स्थपना गर्दा मुरारी खबासको महत्वपुर्ण सहयोग पाएका थिए । गोर्खाली शाह राजाहरुले ईमान्दार तथा वीर भुजेलहरुको पर्वत राज्यको पुरानो प्रतिष्ठालाई ख्याल गर्दै गोर्खा बोलाएका थिए । तिनै भुजेलहरु गोर्खा आएपछि सम्मान स्वरुप "खवास" पदवी पाई खवासको रुपमा परिणत भए।
यसको अलवा भुजेल घर्ती जातिको उत्पतिको बारेमा मौखिक वंशावलीकोरुपमा बिभिन्न भनाईहरु प्रचलित छन् । वंश उत्पतिलाई हेर्दा दैवी शक्ति वा अज्ञात शक्ति र मानव कन्या बिचको सम्पर्कबाट पहिलो घर्ती पुरुषको जन्म भएको कुरा उल्लेख छ । उक्त अज्ञात शक्तिलाई देवता या राक्से हो पनि भनिएको पाइन्छ । दैवी शक्तिबाट जन्म लिएकोले धरतीपुत्र हुदै अपभ्रंस भई घर्ती हुन गएको पनि उल्लेख छ । तर हाल यो कुरा बैज्ञानिक मानव विकास र सभ्यतासंग असुहाउदो छ ।

२. सामाजिक अबस्था र पेशा ः
आफ्नो राज्यबाट धपाईएका भुजेलहरु समुहगत रुपमा हालको तनहुलाई कर्मथलोको रुपमा लिई बसोवास गर्न थाले। पश्चिममा तनहुं, कास्की, स्याङजा, लमजुङ र गोर्खा जिल्लामा यस जातिको जनसंख्या बढि मात्रामा रहेको छ भने पूर्वमा मोरङ, सुनसरी, संखुवासभा र झापामा उल्लेख्य मात्रामा यस जातिको जनसंख्या रहेको छ । निम्न आर्थिक बर्ग भएका भुजेल जातिहरुको पेशाका सम्बधमा केही गलत धारणहरु बाहिर समाजमा ब्याप्त छ । खास गरेर राणाकालिन समयमा निमुखा र गरिब घर्तीहरुलाई घरमा काम गर्नेको रुपमा राखि उनीहरुलाई अनेकन तल्लो स्तरको काम लगाई त्यसबेलाका शासक बर्गले अन्यायस्वरुप पेशाको रुपमा बर्गीकरण गरिदिए । आफ्नो लामो इतिहास हुदा हुदै पनि निमुखा घर्तीहरु सहन बाध्य भए। परम्परागत आफ्नो पेशा खेती किसान,पशुपालन, शिकार खेल्ने र बांसका चोयाबाट डोको, थुन्से, नाङ्लो बुन्नु रहेको भएर पनि तत्कालिन अवस्थामा सहन बाध्य पारिएका थिए। तर आज पनि कहि कतै यस्का अवशेषहरु नभएका भने होइनन् । हामीहरुले यस्तो प्रबृतिको बिरोध गर्दै समाजमा सम्मानजनक पेशा अपनाउनु जरुरी छ । शैक्षिक स्थिति पहिलाको तुलनामा केही मात्रामा सुध्रिदै गईराखेको छ ।

३. धर्म र संस्कृति
भुजेल जाति प्रकृति पुजक हुन् । जल,वायु, जंगल, अग्नि,सूर्य र भूमि यिनीहरुका ईष्ट देबता हुन् । तर पनि लगभग ९५ प्रतिशत भुजेलहरुले हिन्दु धर्म अंगालेको पाईन्छ । तर यो हिन्दु धर्म आफ्नो राज्यबाट धपाईए पछि अन्य जाति र समुदायसंग घुलमिल भई सुरक्षित रहनको लागि र त्यस अबस्थाको राज्य पनि हिन्दु धर्म प्रति आधारित रहेकोले उनीहरुमा हिन्दु धर्मको प्रभाव पर्न गएको देखिन्छ । यसै गरि यस समुदायमा जन्म संस्कार, न्वारान, भात खुवाई, छेवर गर्ने, नाक कान छेड्ने, बिवाह, सम्बन्ढ बिच्छेद देखि दाह संस्कार
सम्मका आफ्नै रितिथिति रहेको पाईन्छ । लोक संस्कृतिमा घांंटु नांच, झ्याउरे, चड्का भजन गाएर नाच्ने परम्परा रहेको छ

। ४. चाडपर्व
यस जातिको मुख्य चाड चण्डी पुर्णिमा हो भने दोस्रो भुजेली पर्व हो। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति का साथै हिन्दुहरुका सम्पुर्ण चाडहरु यस जातिले मनाऊने गरेको पाईन्छ ।

५. भाषा
भुजेलहरुको आफ्नै भाषा रहेको छ । "सेवानुङ्ग" अर्थात नमस्कार । तर हाल आएर यो भाषा लोप हुन लागेको छ, नयां पुस्ताले खस नेपाली भाषा बोल्ने भएकोले यसको अस्तित्व संकटमा पर्दै गएको देखिन्छ । ठाउं अनुसार यस जातिको भाषामा पनि केही भिन्नता रहेको छ। तनहुको भुजेलहरुले बोल्ने भाषालाई भुजेल भाषा र भुजी निसी क्षेत्रमा बोलिने भाषालाई खाम भुजेल भाषा भनिन्छ। नेपालमा भाषिक भुजेल समाजले भाषा र लिपीको संरक्षणको लागि प्रशिक्षण अभियान नै थालेको छ । तपाई हामीले भाषा सिक्न चाहेको खण्डमा उक्त समाजमा सम्पर्क आफ्नो टोलमा नै भाषाको तालिम लिन सकिने छ ।

६. भेषभूषा
आफ्नै भेषभुषा रहेको यस जातिका पुरुषहरु कछाड, भोटो, गादा,आसकोट, दौरा-सुरुवाल र टोपी लगाउछन भने महिलाहरु गुन्यु,चोली, पटुकी, घलेक, पछ्यौरी, टेकी र टाउकोमा मजेत्रो बाध्छन्। मखमलको चोलो,घलेक, हरियो पटुका, कालो बुट्टे मजेत्रो र पोते महिलाहरुको परम्परागत पहिरन हो । तर हाल समयको परिबर्तन संगै स्वच्छाले पहिरन लगाएको पाईन्छ ।

र अन्त्यमा,

यसरी आफ्नै छुट्टै पहिचान बोकेको यस जातिको मौलिकता र ईतिहास बिस्तारै लोप हुदै गइराखेको छ । जातिय अस्तित्वलाई जोगाउन र जातिय उथ्थानको लागि हाल आएर बिभिन्न भुजेल सेवा समाज, मंचहरु स्थपना भएका छन् । नेपालमा मात्र नभई बिदेशमा पनि प्रबासी भुजेल समाज स्थपना भएका छन् । कतार , यु.ए.ई र कुवेतमा यस अघि नै समाज स्थपना भई आफ्नो जातिय उथ्थानमा क्रियासिल रहेका छन् । राजनैतिक बाट टाढा राखेर सबैले आआफ्नो ठाउबाट लागि परे भुजेल जातिको अबश्य पनि आर्थिक, सामाजिक र शैक्षिक अबस्था सुधार हुने कुरा कसैले पनि नकार्न सक्दैन ।

2 comments:

  1. भुजेल/ घर्ती क्षेत्री हुन्। कामको आधारमा बाँडफाँड गर्दा कम पहुँच भएका कारण हेपेका हुन। बदलिँदो व्यवस्था अनुसार आदिवासी जनजातिको सुचिमा सुचिकृत गरिएको हो।

    ReplyDelete
  2. ढोरपाटन भुजाल गाउको भुजेलहरु सबै कामि हुन भन्छन त खासमा भुजेल कामी मगर या क्षेत्री कुन जाती हुन कसैले कामी भन्छन त कसैले क्षेत्री भन्छन तर मगर ड्रेस लगाउछन बुझ्नै गाह्रो भयो।

    ReplyDelete